Wednesday, December 9, 2015

बरु मेरो पद जाला तर कारबाही रोकिन्न'

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले जस्तो सुकै मूल्य चुकाउनु परे पनि भ्रष्टाचारविरुद्धको छानबिन तथा कारबाही नरोकिने बताएका छन्।
भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा अख्तियारद्वारा बुधबार आयोजित कार्यक्रममा कार्कीले यस्तो दृढता व्यक्त गरेका हुन्। उनले प्रकियाबमोजिम नै अख्यितयारले छानबिन तथा कारबाही अघि बढाएको दाबी गर्दै भने, तर हिजो राजनीतिक क्षेत्रमा अख्तियारले कहिले हात हाल्छ भनेर सोध्नेहरुले नै अहिले साथ दिएका छैनन्। उनले भ्रष्टाचारमाथिको छानबिनमा कुनै पनि सम्झौता नहुने बताउँदै भने, कुनै कसैसँग सम्झौता हुन्न । जस्तोसुकै मुल्य चुकाउन र परिणती सहन भोग्न पनि तयार छु । तर छानविन रोकिनेवाला छैन ।’ उनले बरु आफूले पद छोड्नसक्ने तर कारबाही नरोकिने बताउँदै भने, बरु मेरो पद जाला तर कारबाही रोकिन्न।' कार्कीले आफुले देशका लागि जिवन समर्पित गरिसकेकाले कसैसँग नझुक्ने दृढता व्यक्त गरे । कार्कीले अघि थपे, ‘परमात्माले जति भोग गर्न दिएका छन्, त्यति नै भोग गर्न म तयार छु ।’ दलका केही नेता र पूर्व प्रशासकलाई सम्पत्ति छानविनका लागि गत साता पत्र काटेको विषयलाई लक्षित गर्दै कार्कीले अख्तियारले सम्पत्तिको ‘तश्‍बिर’मात्र हेर्न खोजेको बताए। उक्त कार्य जनअपेक्षा अनुरुपको रहेको भनाइ उनको थियो । ‘विधिसम्मत तरिकाले काम अघि बढाउन आयोग सधैं तयार छ । आयोगले विवेक शुन्य भएर काम नगर्ने भनाइ उनको थियो । अख्तियारले सम्मानपूर्वक सात दिनको समय दिएर पठाएको पत्र विधिसम्मत रहेको उनको भनाइ छ। अख्तियारका पूर्व प्रमुख आयुक्त, सरकारका मुख्य सचिव, सचिव, गभर्नर, सुरक्षा प्रमुख, पूर्व प्रसासक, सरकारका उच्च पदस्त अधिकारी, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व आमन्त्रित कार्यक्रममा कार्कीबाट यस्तो भनाई आएको हो । भ्रष्टाचारविरुद्धको कारवाहीमा आफु पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको बाटोमा लागेको पनि कार्कीले सुनाए । कार्कीले भने, ‘हरेकले कानुन अनुरुप आम्दानीको स्रोत देखाउनुपर्छ । त्यो मागेर हामीले के अपराध गर्‍यौं । कसैलाई मानमर्दन गरेको, छापा मारेको र गिरफ्तार गरेको होइन ।’ सम्पत्ति छानविनमा अरु थुप्रैको नाम भएको र उनीहरुमाथि पनि छानविन हुने जानकारी उनले गराए । छानविन गर्दैमा दोषी नहुने भन्दै अनुसन्धानका लागि पत्र काट्दैमा नेताबाट विरोध भएकोमा कार्कीको आपत्ति थियो । शक्ति छ भनेर मनपरी गर्दा यही जुनीमा आफुले पनि कर्मको फल भोग्नुपर्ने बताउँदै उनले सयपल्ट सोचेर मात्र कारवाही गर्ने प्रतिबद्धता जनाए। सदाचारी व्यक्तिलाई नडराउन पनि उनको आग्रह थियो । कार्कीले ऐन कानुनको परिधिभित्र रहेरै केहीमाथि अनुसन्धान गर्न थालिएको बताउँदै भ्रष्टाचार देखिएमा विशेष अदालतमा मुद्दा चल्ने भनाइ पनि राखे । राज्य कोषबाट सुविधा लिएका व्यक्ति अख्तियारको क्षेत्राधिकारभित्र पर्ने भएकाले राजनीतिक व्यक्तिलाई कानुन भन्दा माथि ठानेर उन्मुक्ति दिन नमिल्ने भनाईसमेत कार्कीले राखे। ‘भ्रटाचार नियन्त्रण हल्काफुल्का धक्काबाट संभव छैन । ठूलै धक्का, ठूलै चोट र अदम्य साहसको आवस्यकता छ’, कार्कीले भने । आर्थिक बृद्धी रोक्ने, सामाजिक भेदभाव र कुसासनको कारण नै भ्रष्टाचार हो भन्दै उनले भ्रष्टाचारविरुद्धका उजुरी आधिकारिक भएमा सत प्रतिशत जाँच गरेर कारवाही गरिने प्रतिबद्धता उनको थियो। अख्तियारले ‘साना माछा’मात्रै समात्ने गरेको आरोपको पनि प्रतिवाद गरे । कार्कीको प्रश्न थियो, ‘शिक्षा जस्तो क्षेत्रमा खडा गरिएका नक्कली झोले विद्यालयमाथि कारवाही गरेर ५ अर्ब जोगिएको छ । भ्याट छली रोक्न दिएको निर्देशन अनुरुप दस अर्ब कर उठेको छ । विद्युत प्राधिकरण र वैदेशिक रोजगार जस्ता निकायमा भएका भ्रष्टाचारमा यत्रा कारबाही भएका छन् । यसलाई सानो भन्ने की ठूलो ? ’

No comments:

Post a Comment